महानगर यातायातले थप्यो टाटाका ४० नयाँ बस, सिप्रदी ट्रेडिङद्वारा चाबी हस्तान्तरण
काठमाडौं, १० माघ । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा नयाँ बस आजदेखि सञ्चालनमा ल्याएको हो ।
सिप्रदी ट्रेडिङ् प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो ।
काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा टाटाका थप ४० वटा बसहरू सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार, नयाँ बस थपिएसँगै महानगरका बसहरूको सङ्ख्या ८९ पुगेको छ ।
उनले भने, “हाल काठमाडौँको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट ती बसहरूको चावी लिदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौँ ।”
नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ ।
आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न सुरु गर्ने जानकारी दिएको छ ।




