पाथिभरा क्षेत्रमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले चलायो १२ सेल अश्रुग्यास

पाथिभरा क्षेत्रमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले चलायो १२ सेल अश्रुग्यास

काठमाडौं, १२ माघ । पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको छ । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिएका थिए ।

मंगलबारबाट केबलकारको निर्माणको काम सुरु भएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए । त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।

डीएसपी रावलले पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।