प्रचण्डको आरोप : ‘सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा’
काठमाडौं, १५ माघ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रूपले बनेको पुष्टि भएको बताएका छन् ।
मङ्गलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्र्दै उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।
उनले भने, “अहिले सरकारमा गएकाहरू कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन् । उनीहरू भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशिल तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होइन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफैँ प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन छ । त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रि छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।”
अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाईलाहरु नै हो भन्ने महशुस भएपछि तत्काल अधिवेशनको आव्हन गरेको उनले जानकारी दिए ।
त्यस्तै उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहरू खोस्ने जर्मको भइरहेको उनले बताए ।