६ महिनामा ७० लाख नाघे करदाता
काठमाडौं, १५ माघ । नेपालमा करदाता संख्या ७० लाख नाघेको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनासम्म ७० लाख ३६ हजार ६ सय ८३ जना करदाता दर्ता भएका आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।
जसमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या सबैभन्दा बढी रहेको छ । सरकारले पारिश्रमिक भुक्तानी सहितका कारोबारमा प्यान अनिवार्य गरेसँगै दर्ता हुने क्रम समेत बढीरहेको देखिएको छ ।
विभागका अनुसार, गत कात्तिकदेखि पुससम्मको तीन महिना अवधिमै प्यान नम्बर लिनेको संख्या १ लाख ४२ हजार ६ सय २ रहेको छ ।
पुस मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९३ हजार ७ सय २४ छ । पछिल्लो तीन महिनामा २८ हजार ८६ जनाले प्यान नम्बर लिएका विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या ३ लाख ३८ हजार ३ सय १६ पुगेको छ । पछिल्लो तीन महिनामा भ्याटमा ५ हजार ४ सय ४५ करदाता दर्ता भएका छन् ।
अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६ सय ८२ करदाता दर्ता भएको विभागले जनाएको छ । पछिल्लो तीन महिनामा १ हजार ८ सय ७१ करदाता थपिएका छन् ।
विथहोल्डर स्थायी लेखा नम्बर लिने करदाता भने ३४ हजार ६ सय ३८ पुगेको छ । पछिल्लो तीन महिनामा ५ सय ७३ नयाँ करदाता थपिएको विभागले जानकारी दिएको छ ।