एपीएफ अपराजित रहँदै च्याम्पियन

एपीएफ अपराजित रहँदै च्याम्पियन

काठमाडौं, १६ माघ । नेपाल पुलिस क्लबमाथि ४-० को सहज जित हासिल गर्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ। बुधबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपीएफलाई च्याम्पियन बनाउन सविता रानामगरले दुई तथा सरु लिम्बु र अनु लामाले एक गोल गरे। सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन्।

लिगको पहिलो खेलमा पुलिससँग गोलरहीत बराबरी खेलेको एपीएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो। पुलिसविरुद्ध एपीएफको यो लगातार तेस्रो जित रह्यो।

सुपर स्टेजको नाम दिइएको दोस्रो चरणका दुवै लेगमा एपीएफले पुलिसलाई हराएको थियो। पहिलो लेगमा ६-० को हार बेहोरेको पुलिस दोस्रो लेगमा २-० ले पराजित भएको थियो।

पहिलो हाफमा एपीएफले कुनै पनि राम्रो अवसर सृजना गर्न सकेन। दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको एपिएफले खेलको ६४औँ मिनेटमा डेडलक तोड्यो।

सरु लिम्बुले राइट साइडबाट सरुले दिएको क्रसलाई सविताले वान टचमा गोल गरिन्। पाँच मिनेटपछि सरुको गोलमार्फत एपीएफले अग्रता दोब्बर बनायो। मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाएकी हुन्। सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीति राईको थ्रु पासमा सविताले अर्को गोल थपिन्। सविताको लोअर प्रहारले पनि दोस्रो बारको जाली चुमेको थियो।

इन्जुरी समयमा अनुले गोल गर्दै एपिएफलाई ४-० को सहज जित दिलाइन्।