माघ २४ मा समाजवादी मोर्चाले काठमाडौंमा विरोधसभा गर्ने
काठमाडौं, १६ माघ । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौँमा विरोधसभा आयोजना गर्ने भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।
त्यस्तै चैत पहिलो साता मधेश प्रदेशमा सभा गरिने भएको छ । सो सभाको सञ्चालन गर्ने जिम्मा नेपाल समाजवादी पार्टीलाई दिइएको छ ।
बैठकमा विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय पनि भएको छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
बैठकमा तीन कम्युनिष्ट घटकहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीका साथै नेपाल समाजवादीको एउटा समूह उपस्थित छ ।
यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहेका बेला उपेन्द्रको पार्टी विभाजन गरिदिएपछि उपेन्द्र उनीसँग रिसाएका छन् ।