५ महिनापछि सुरु भयो संघीय संसद् अधिवेशन

५ महिनापछि सुरु भयो संघीय संसद् अधिवेशन

काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गरे । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ । 

अधिवेशनको पहिलो दिन सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेस हुने जनाइएको छ ।