सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ: सभापति देउवा
काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा विधिको शासन हुनुपर्ने बताउँदै हाम्रा प्रत्येक काम कारबाही कानुनबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै संविधानको कार्यान्वयनको लागि होस् वा अन्य काम गर्नका लागि आवश्यक कानुन सदनले नै बनाउने उनले स्पष्ट पारेका हुन् । ’तसर्थ संसद्मा विचाराधीन सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु,’ उनले भने ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको उनले स्मरण गराए । उनले भने, ’हामी दुवै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ। नेपाली कांग्रेस र (एमाले) बिचको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरूको पनि निरन्तर सहयोग रहने छ भन्ने मैले विश्वास गरेको छु।’