एपीएफलाई हराउँदै आयोजकले जित्यो टाइगर कपको उपाधि
पोखरा, २० माघ । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।
अब पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच प्रतिष्पर्धा हुनेछ ।