शुक्रबार २५ माघ, २०८१

नारायणगढ-बुटवल सडक विस्तारमा तीव्रता, १८ स्थानबाट कालोपत्रको कार्य सुरु

नारायणगढ-बुटवल सडक विस्तारमा तीव्रता, १८ स्थानबाट कालोपत्रको कार्य सुरु

नवलपुर (नवलपरासी) , २१ माघ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले पूर्वी खण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्ने गरी काम भइरहेको जानकारी दिए ।

‘यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ,’ उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँबाहेकका सडकमा कालोपत्र गर्ने गरी १८ ठाउँमा काम भइरहेको छ ।’ पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किलाेमिटर सडक कालोपत्र भएको उनको भनाइ छ । अब करिब २२ किलाेमिटर सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इन्जिनियर खनालले बताए । ‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो,’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्स्काभेटरसहित १८ स्थानमा ५५० जना श्रमिकले धमाधम काम गरिरहेका उनको भनाइ छ । हालसम्म सडकको भौतिक प्रगति ५३.३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा १.४३ प्रतिशत प्रगति भएको बताए ।

‘जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किलाेमिटर कालोपत्रको तयारी भएको छ,’ उनले भने, ‘गैँडाकोटको नारायणीको पुलनजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रका लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जंगल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्ने गरी काम भइरहेको सूचना अधिकारी इन्जिनियर खनालले बताए ।

यस खण्ड निर्माणका लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । ०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबिच ०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ११४ किलाेमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । ०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एकचौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले तेस्रोपटक म्याद थप गरेको छ । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बिचमा ‘ग्रिनरी’ राखिनेछ ।

तीन मिटरको बिचभागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७-७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६–६ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किलोमिटर सडक तीन लेनको हुने जनाइएको छ ।