रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
![रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi-lamichhane-0712025050855-1000x0_RQLfPhgJ8R_cangcmsopnoj3gb3tw7bepi5qstcyvyq0w6bdhvhvjzelwuhoa5duj7wwdaj_fRF6sVBuy7_r3uktkelpwqbf4qwjv2hqmnbfa4pxtupxpp2ckjg7klzxyxnmpmlctftlfbq.jpg)
चितवन, २१ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी आज रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो । गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।
यसअघि लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका छन् ।
प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो ।
प्रहरीले पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी गरेको छ ।
दुवै निवेदनअनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । भने कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो असुलउपर गर्नुपर्ने राय प्रहरीको छ ।