गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा ‘नो केबलकार समूह’ को प्रदर्शन
काठमाडौं, २१ माघ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणको विपक्षमा रहेको ‘नो केबलकार समूह’ ले काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले विरोध प्रदर्शन गरेको हो ।
गत माघ १२ मा प्रहरी र अन्दोलरत समूहबीच भएको झडपका क्रममा दुईजनालाई गोली लागेर घाइते भएका थिए । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्को पार्दै लगेको छ ।
माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।
उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे !’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड हातमा बोकेर प्रदर्शन गरेका छन् ।