नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता
![नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता](https://snowberry.prixacdn.net/media/gallery_folder/samjhauta%252031_VQVPS9UgsU_h7p0pdxzqa0lo4xrilcmyxjpiuzltumqfq6mujawvtxfpdtilkescxtiybhz_zVJjeU9WmL_ssci9yz88j3sclvlgvnkxuplmynst7jxn3rny4pbenf522jxiy3mndz1gmfb.gif)
काठमाडौँ, २४ माघ । बीमा व्यवसाय सहकार्य सम्बन्धी नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर कार्यक्रममा रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने बताए । साथै उनले व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताउँदै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृतलगायतका समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको जनाए ।
सोही क्रममा बज्राचार्यले यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताएका थिए। उनले अब मिलेर कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने र त्यसले दिगो विकासलाई टेवा पुर्याउने बताए।
यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको जनाइएको छ। यसले लघु बीमा सम्बन्धी वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने पनि बताइएको छ।