बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौंः प्रचण्ड
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन्। प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु मँ। सम्मानित संसदमै फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं। तपाईंहरू देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं। सहिदका सपना र संकल्पतिर फर्किसक्यौं,’ अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं। आधारभूत वर्गबाट थोरै टाढिएका थियौं। त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं।’
सत्तारुढ दलहरूबीच विश्वासको वातावरण नरहेको प्रचण्डको टिप्पणी छ। ‘विश्वासको वातावरण भए दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र?,’ उलने प्रश्न गरे।
उनले अब विपक्षीको डरले एकअर्काका कुर्सी मिलाउन नलाग्न उनको आग्रह छ। ‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस्। हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन। हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन। यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन। २०८४ सम्ममात्र किन, त्योपछि पनि सँगै जानोस्, मेरो शुभकामना छ,’ उनले भने, ‘हामी सरकार बनाउनेछौं। तर, आफ्नै सामथ्र्यमा। सरकारको खेलमा हामी छैनौं। तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं।’