पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला
म्याग्दी, २५ माघ । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।
‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै ४० लाख रुपैयाँको सुन्तला बेचिसके । सबै बगैंचाको बिक्री गर्दा ४५ लाख रुपैयाँ पुग्ने अनुमान छ ।’
खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् ।
सबै बोटमा फल लाग्दा वार्षिक एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो एक सय २० रुपैयाँका दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।
बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा ५ वटा सुन्तलाका बिरूवा रोपेका थिए । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे ।
बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थपे । त्यसले ५ वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।
विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै गइरहेका छन् । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।
३५ वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए । निवृत्त जीवन पनि उनले सुन्तला खेतीमै लगाएका छन् । ४ छोरी विवाह गरेर घर गए । अहिले छोराबुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् ।
खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा ९ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छन्तेलले २३ लाख रुपैयाँ र ८ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले ३० लाख रुपैयाँको सुन्तला बिक्री भएको बताए ।
समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार ९ सय मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन् ।
बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताए। २६ हजार ७ सय ६ वटा बोटमा यस वर्ष १८ करोड ४४ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला फलेको उनले बताए । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ ।
देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् । -रासस