रास्वपा प्रमुख सचेतक परियारको प्रश्न : प्रेम गरेकै कारण दलितहरू उठिबास लाग्नुपर्ने ?
![रास्वपा प्रमुख सचेतक परियारको प्रश्न : प्रेम गरेकै कारण दलितहरू उठिबास लाग्नुपर्ने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/santosh-pariyar-1024x629_GASPr0VYJQ_lx6dxc3dn27mbpxosne01coa5pq8yyanzifcodrylnhrfhamigsgcrc2sp9d_8iUwNAl3Tk_67r35o7gadqgnshsyrmsb1yqs27lxcxj9agngultrr4mvryvuqa0hbp2qyol.jpg)
काठमाडौं, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए ।
‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु,’ परियारले भने ।
हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे ।
‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?,’ परियारले भने ।