चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आर्मी स्तब्ध

काठमाडौं, २८ माघ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीलाई १-० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजलाई फाइनलमा पुर्याउन राज भुसालले गरेको एक मात्रै गोल निर्णायक बन्यो । खेलको ८९औँ मिनेटमा नविन लामाको कर्नर प्रहारमा राजले हेडर गोल गरेका थिए ।
यसअघि न्युरोड टिम एनआरटीलाई सडनडेथमा ६-५ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज क्वार्टरफाइनल प्रवेश गरेको थियो । आर्मी भने 'बाइ' पाएर सिधै क्वार्टरफाइनल पुगेको थियो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिस यसअघि बिग्रेड ब्वाइज क्लब, युकेलाई २-० गोलअन्तरले हराउँदै सेमिफाइनल पुगेको थियो ।