इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
![इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/esewa-photo_9U82DL9356_ODGREDAjHj_bgjshyadl3hhvzlppcqdho7fypiyvprhb702biqbw5vsgomh24yxhtymbnpc_YHRn7ciVft_ksdd0s6jrfyjvso3uq5dfmwee01sdeoisrw2naomfuvjnvtqsoi6lhayyu85.jpg)
काठमाडौँ, ३० माघ । ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंकमार्फत मात्रै प्रदान गर्दै आएको यो सुविधा इसेवाले एनआईसी एशियामा पनि विस्तार गरेको हो ।
यसका लागि इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा एपमा गई ‘ओटीपी’ प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपछि एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको ‘फाइनान्सियल सर्भिस’भित्र रहेको एटीएम ‘विथड्र’मा गई एनआईसी एशिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ‘ओटीपी’ आउने छ । जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्ने इसेवाले जनाएको छ । यसरी मोबाइल नम्बर र ‘ओटीपी’सहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् ।