ट्रम्पले सत्ता सम्हालेसँगै २० दिनमा अमेरिकाबाट २२ नेपाली डिपोर्ट
![ट्रम्पले सत्ता सम्हालेसँगै २० दिनमा अमेरिकाबाट २२ नेपाली डिपोर्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/trump%25201_x47bWLl5x6_3cim2owj61mpjhdn3l6sbmsbshzbj2mr49m1c5uiguaj9fs6gs64d10eod8f_7SvO6uVv2H_p6o8vcdmmjzbfocnqwvkpwzxtdwgfgtiuifrkqzq9zrgqjmipglooe2sdci0.jpeg)
काठमाडौंं, ३० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछिको २० दिनमा अमेरिकाबाट २२ जना नेपाली देशनिकाला भएका नेपालको अध्यागमन विभागले खसोखासलाई जानकारी दिएको छ ।
२२ जनवरी २०२५ पछि अमेरिकाबाट नेपालमा डिपोर्ट भएर आउनेहरुको संख्यामा विगतको तुलनामा बृद्धि भएको नेपालको अध्यागमन विभागका अधिकारीको भनाई छ । २२ जनवरी देखि ३० जनवरीसम्म अमेरिकाबाट ८ जना नेपालीहरु देशनिकाला भएर नेपाल पुगेको र फेबु्रअरी १ देखि ९ सम्ममा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या १४ रहेको त्रिभुवन विमानस्थलमा रहेको नेपालको अध्यागमन कार्यालय जानकारी दिएको हो ।
देशनिकाला भएर आउने नेपालीहरुलाई आइसले नेपालको अध्यागमनमा बुझाउनका लागि पत्र दिने गरेको र उक्त पत्रका आधारमा आफूहरुले तथ्यांक राख्ने गरेको अध्यागमन कार्यालयका अधिकारीको भनाई छ ।
ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु या त जनवरी २० अघि नै देशनिकालाको प्रकृयामा रहने क्रममा ट्राभल डकुमेन्टहरु बनाइसकेका या त अद्यावधिक पासपोर्ट रहेका नेपालीहरु रहेका छन् । जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि ट्राभल डकुमेन्ट बनाउनका लागि आइसमार्फत कुनै अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले खसोखासलाई जानकारी दिएको थियो ।
देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकी अध्यागमन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ ।
दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ ।
देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ । त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने देशनिकाला हुने आप्रवासीलाई प्रदान गरिने पत्रमार्फत जानकारी प्रदान गर्ने गरेको छ ।