बुधबार ३० माघ, २०८१

सदस्यहरूको कार्यविभाजनका लागि न्याय परिषद् बैठक जारी

सदस्यहरूको कार्यविभाजनका लागि न्याय परिषद् बैठक जारी

काठमाडौं, ३० माघ । न्याय परिषद्को बैठक बसिरहेको छ । परिषद्मा नयाँ सदस्य थपिएपछि पहिलोपटक बैठक बसेको हो ।

करिब दुई महिनाको रिक्ततापछि गत २१ माघमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सदस्यमा नियुक्त   भएका थिए ।

सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार रिक्त छ । न्याय परिषद् ऐनमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था भए पनि सर्वोच्चले न्यायाधीश पाउन सकेको छैन ।

आजको बैठकबाट नयाँ सदस्य लगायतको कार्यविभाजनको निर्णय हुने एक सदस्यले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकले केही न्यायाधीशको सरुवा तथा काज सम्बन्धी निर्णय लिन सक्ने पनि बताइएको छ ।