छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश
![छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/Chhabilal-Joshi-Former-AIG_AELX9MBJhw_fhtvnenorcwgirs8tkvffarfrjezmcqrb0xoj9tkwqr6aaos3mwjrkooiqrq_dcO1Vrmtv5_namy0r80qi3mprakfcajjveac9hppc2sxlwmftpk2ntvpohdejy3sgeofqru.jpg)
बुटवल, ३० माघ । उच्च अदालत बुटवलले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी जोशीलाई रुपन्देही अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यसविरुद्ध अधिवक्ता तथा जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका थिए।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रुपन्देही जिल्ला अदालतले दिएको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ।
‘प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।
जोशी बयानका लागि सोमबार अदालतमा आफैं उपस्थित भएका थिए। बयान तथा त्यसपछि भएको थुनछेकबहसपछि जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको हो।
सुप्रिम सहकारीको रकम अपचलनमा जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जना विरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने भने यसअघि नै एक करोड रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।