खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, प्रसूति गृहमा भेल पुग्ने डरले सुरक्षा टोली परिचालन
![खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, प्रसूति गृहमा भेल पुग्ने डरले सुरक्षा टोली परिचालन](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhal-Jilla-jilla-ban-office-babarmahal8-1024x683_XusMy80WoQ_5q8aor0utjlwb74wfhmavqzwfzlyxbuavyjuoubhxvpt8oaghkd14h2n5wzm_oeFRc5pLnJ_kohypnzqdpddxcz8f5kq7mpzpulompgjfwkkca1qyo48bdjazpnumux3exns.jpg)
काठमाडौं, ३० माघ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप बबरमहलमा बुधबार दिउँसो फुटेको छ ।
पाइप फुटेर निस्किएको पानीले बबरमहल क्षेत्र जलमग्न बनेको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
यद्यपि, पाइप ठूलो भएको र त्यहाँ जमेको पानी सबै बग्ने भएकाले अहिले पनि बबरमहलमा पाइपबाट पानी निस्कन छाडेको छैन । पानी नरोकिएपछि अहिले प्रसूति गृहमा पनि उद्धार टोली पठाइएको हो ।
काठमाडौं महानगरका एक प्रहरीले दिएको जानकारी अनुसार अहिले लगभग २ सय जनाको सुरक्षा टोली सो क्षेत्रमा खटिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर सो संख्यामा टोली खटिएको हो । बबरमहलमै रहेको विशेष अदालतभित्र केही कर्मचारी अझै रोकिएका छन् ।