बिहीबार ०१ फागुन, २०८१

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११ गतेदेखि

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११ गतेदेखि

काठमाडौं, १ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि   बिक्री  गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।