बिहीबार ०१ फागुन, २०८१

पर्वतको सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ

पर्वतको सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ

पर्वत, १ फागुन । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ परेका हुन्।

गत माघ २९ गते मध्यान्ह आर्थरको बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको थियो। घटनामा खोजतलास गर्दा उनीहरू दुई जनाले आगलागी गराएको थाहा भएपछि उनीहरूलाई सोही दिन अपराह्न पक्राउ गरिएको हो।

दुवैजना अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय पर्वतमा पठाइएको छ।

डिभिजन वन कार्यालय पर्वतका सूचना अधिकारी तथा वन डढेलो सम्बन्धी फोकल पर्सन रामबहादुर बिकले वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजायसम्बन्धी व्यवस्थाअनुसार उनीहरूमाथि कारबाही हुने बताए।

उक्त दफामा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ।

उक्त कसुर ठहर भएमा सोही ऐनको दफा ५० मा डढेलोले जति क्षति भएको छ त्यसको मूल्याङ्कन गरी बिगोसमेत असुलउपर गरी तीन वर्ष कैद, ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको बि।क।ले बताए।

पर्वतमा पोहोर साल ७० वटा आगलागीका घटना भएका थिए भने करिब दुई हजार हेक्टर क्षेत्रफलको वन प्रभावित भएको थियो। धेरै स्थानमा आगलागीका घट्नाहरु भएकोले यस वर्ष सरोकारवाला निकायहरूले आगलागी हुन नदिनका लागि कडाइ गरिरहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षाकर्मीहरूलाई डढेलो नियन्त्रणका लागि मात्रै नभई डढेलो लगाउनेहरूलाई पक्राउ गरी कानुन अनुसार  कारबाही गरिने बताए।

जिल्लाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारीहरू खटाएर गाउँ गाउँमा निगरानीको काम भइरहेको बताए। अघिल्लो वर्ष जिल्लाका धेरै स्थानमा डढेलो लागेको र नियन्त्रणमा निकै समस्या भएकोले यस वर्ष दोषीहरूलाई पत्ता लगाउने गरी सुरक्षाकर्मीहरूसँग समन्वय भइरहेको उनको भनाइ छ।

प्रहरी नायव उपरीक्षक विष्टले पनि प्रहरीले गोप्य रूपमा वन क्षेत्रहरूमा निगरानी गरिरहेको भन्दै कसैले १०० मा सम्पर्क गरेर वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेका छन्।

डढेलो लगाएको व्यक्तिको बारेमा जानकारी दिने व्यक्ति गोप्य रहने भएकोले जो कसैले पनि डढेलो लगाएको ।व्यक्तिको पहिचान वा शङ्का गरेको भएमा खबर गर्नुपर्ने उनले बताए।