रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ आजदेखि
![रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ आजदेखि](https://snowberry.prixacdn.net/media/gallery_folder/raspa%2520office_88ipzJNlfx_hfeqnu6b5xmrrwo1mz8wka5zfzyfltbzqazbdi1ivevckjiuy8vbf4i2u4u6_78UVftWbjE_urhzvejzet721oykepnmlntqllpdudtgjihwmigkxc4nlqfaeriqwxvyet4a.jpg)
काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद गर्न लागेको हो ।
समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने रास्वपाले जनाएको छ ।
केन्द्रीय नेता हरेक प्रदेशमा पुगेर समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गरिने रास्वपाले जनाएको छ । समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग संवाद हुने गण्डकीका लागि जिम्मेवारी पाएका नेता शिशिर खनालले जानकारी गराए ।
‘उहाँहरूको अहिलेको राजनीतिप्रतिको बुझाई संवाद हुन्छ । संवादको क्रममा सरकारले राखेको राजनीतिक प्रतिशोधको जानकारी गराउँछौं,’ खनाल भन्छन्, ‘संवाद र छलफल संगठन निर्माणको कार्यपनि हो ।’
संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले राखेको छ ।
संवादका क्रममा सरोकारवालाहरुले उठाएका विषयमा रहेर खटिएका नेताहरुले केन्द्रमा प्रदेशगत प्रतिवेदन बुझाउने छन् । यस प्रकारको संवाद आवश्यकता अनुसार चरणबद्ध गरिने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।