बिहीबार ०१ फागुन, २०८१

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

मनहरी, १ फागुन । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएकाछन् । 

नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले  व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकरात्मक ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए। उनले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए।

आर्थिक समृद्धिलाई नागरिकले महशुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेका अधिकार सहज उपभोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिँदै नागरिकका आवश्यकता र चाहना पुरा भएमात्र राजनीति सही बाटोमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिनु जरुरी रहेको औल्याए ।

वर्तमान समयमा नागरिकले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको तथा विदेशिने वातावरणको अन्त्य चाहेको उनले बताए । सो चाहना अनुरुप नै यो सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले राजनीतिक स्थायीत्व कायम गर्दै नागरिकको अपेक्षाअनुसारको काम गर्नुपर्ने मुल दायित्व रहेको बताए।

पार्टी भित्रका विवाद समाधान गर्न माथिल्ला संरचनासँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गर्दै पार्टी सङ्गठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकाले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको बताए।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।