बिहीबार ०१ फागुन, २०८१

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौं, १ फागुन ।  काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ ।

प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्यारापिट निर्माणको ठेक्का काठमाडौँको टंगालमा रहेको बीकेओआई-केसीडीसीबीजी जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको हो ।