आइतबार ११ फागुन, २०८१

आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा

आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा

काठमाडौँ, ५ फागुन । भारतीय राज्य आसामको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय आसाम साहित्य सभाको ७७ औँ सम्मेलन नेपाल र आसामबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धबारे चर्चा गरिएको छ । आसामको पाठशालामा भएको पाँचदिने सो सम्मेलनमा नेपाल र आसामबीचको साहित्यिक आदानप्रदान र सम्पदाबारे विशेष चर्चा भएको हो ।

शताब्दीऔँ पुरानो भाषिक, सांस्कृतिक, धार्मिक र वैचारिक आदानप्रदानले नेपाल र आसामबीच गहिरो सांस्कृतिक र साहित्यिक सम्बन्ध स्थापना गराएको छ । नेपाली साहित्यले आसामका लेखकहरूमा उल्लेखनीय प्रभाव पारेको छ भने आसामी साहित्यले पनि नेपालमा दिगो प्रभाव पारेको छ ।

यस प्रकारका आदानप्रदानहरू नेपाली र आसामी भाषाका साहित्यिक परम्परा, एक अर्को भाषामा भएका अनुवाद तथा नेपाल र आसामका लेखक, अनुसन्धाता र विद्वानहरूका सहकार्यमा प्रतिबिम्बित भएका छन् । लिखित साहित्य मात्र होइन सयौँ वर्षदेखि चल्दै आएको अन्तक्र्रियाले एक अर्काको परम्परा, कला र सामाजिक प्रचलनमा पनि प्रभाव पारेको छ ।

सम्मेलनमा भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेलले नेपाल र आसामको संस्कृति, भाषा र साहित्यबारे प्रकाश पार्दै नेपाल र आसामको सांस्कृतिक आदानप्रदान तिनका परम्परा र चाडहरूमा झल्कने र तिनमा हिमालय क्षेत्रको प्रभाव झल्कने बताए ।

प्राध्यापक पोखरेलले आसामी साहित्य नेपाली संस्कृति र आध्यात्मिक परम्पराबाट प्रभावित भएको उल्लेख गर्दै नेपाली साहित्यले पनि आसामको विविधतापूर्ण संस्कृतिबाट प्रेरणा लिएको चर्चा गरे ।

आसाम साहित्य सभाका नव नियुक्त अध्यक्ष वसन्तकुमार गोस्वामीले आसामी भाषा र साहित्यको प्रवर्द्धनमा आफू लागिरहने प्रण गरे । कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष डा हेमन्तकुमा बरुआ र महासचिव डा उपेन्द्रजित सर्माले सङ्गठन आसामको साहित्यिक र सांस्कृतिक विविधता प्रवर्धन गर्न कोसेढुङ्गा साबित भएको दाबी गरे ।

सन् १९१७ मा स्थापित आसाम साहित्य सभाको यस वर्षको सम्मेलनका क्रममा आयोजना गरेको मेलामा पाँच दिनमा करिब ३० लाख मानिसहरू उपस्थित भएको आयोजकले जनाएका छन् । पहिलो पटक राखिएको विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनी र भारतीय सेनाको विशेष प्रदर्शनी मेलाका आकर्षण थिए ।

भारत सरकारले गत वर्ष आसामी भाषालाई प्राचीन भाषाको मान्यता दिएपछि पहिलो पटक आयोजित सो सम्मेलनमा भारत, नेपाल र विश्वभरबाट छ हजार जना भन्दा बढी सहभागीको उपस्थिति थियो । रासस