सोमबार २६ माघ, २०८२

राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

काठमाडौं, ६ फागुन । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गरेका हुन ।

आज पालिकाका सबै वडासचिवहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विरोध स्वरुप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौं ।’

कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए ।

त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका थिए ।

उक्त दुई घटनाको विरोध गर्दै राप्तीका सचिवहरूले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।