४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास

काठमाडौं, ८ फागुन । हमासले गाजामा मृत्यु भएका बन्धकहरुको शव बिहीबार इजरायललाई फिर्ता गर्ने भएको छ ।
इजराइली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले चार बन्धकको शव फिर्ता गर्न लागेको हो । ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको शव हमासले छाड्नेछ ।
७ अक्टोबर २०२३ मा उनीहरूलाई हमासले बन्धक बनाएको थियो । त्यतिबेला एरियल ४ वर्ष र केफियर ९ महिनाका थिए । यी बच्चाका पिता यार्डेनलाई केही दिनअघि रिहा गरिएको थियो । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए ।