शनिबार १० फागुन, २०८१

दिल्लीको नवौँ मुख्यमन्त्रीमा रेखाले लिइन् शपथ

दिल्लीको नवौँ मुख्यमन्त्रीमा रेखाले लिइन् शपथ

काठमाडौं, ८ फागुन । भारतको दिल्लीको मुख्यमन्त्रीमा नियुक्त भएकी रेखा गुप्ताले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् । प्रवेश वर्माले उपमुख्यमन्त्रीको शपथ लिँदा अरुले मन्त्रीको शपथ लिएका हुन् । बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको थियो ।

भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एकएक गरी कुरा गरेका थिए ।

यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो ।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो । दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।