एपी ‘कट्टर वामपन्थी संगठन’ भएको ट्रम्पको आरोप

वासिङटन, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी संगठन’को संज्ञा दिएका छन् ।
मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जलक्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम एपीले ट्रम्पले भनेजस्तो गरी उल्लेख गरेको थिएन । त्यसपछि राष्ट्रपति ट्रम्पले एपीविरुद्ध उक्त आरोप लगाएका हुन् ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’को संज्ञा दिएका थिए । उनको आदेश पालना नगरेसम्म एपीका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए । ह्वाइट हाउसले एपीका पत्रकारलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ ।
बिहीबार राजधानी वासिङटनमा रिपब्लिकन गभर्नर्स एसोसिएसनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक कट्टर वामपन्थी संगठन हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।”
सम्भावित कानुनी कारबाहीका बारेमा उनको दाबी के हो भन्ने उल्लेख नगरीकन ट्रम्पले अगाडि भने, “हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ । मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन् र सायद उनीहरूले जित्नेछन् । फरक पर्दैन । यो केवल यस्तो कुरा हो, जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्दछौँ ।”
लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाका रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले त्यहाँ र विश्वभरका छापा, टीभी र रेडियो प्रकाशन तथा प्रसारणका निम्ति समाचार प्रदान गर्छ ।
गएको महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो । रासस/एएफपी