प्रतिनिधिसभा : सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्त्वाकाङ्क्षी सपना बाँडेर अहिले पन्छिन खाजेको उहाँकाे आरोप छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरूको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
यसैबीच सरकारले यसअघि माघ २४ गते नै संसद्मा अध्यादेशहरू अघि बढाउने तयारी गरेको भए पनि राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि रोकिएको थियो । त्यसपछि फागुनको ६ गते अघि बढाउने तयारी गरेकोमा ११ गतेसम्म नगर्ने भनेको थियो । सरकारले आज पनि अध्यादेश अघि बढाएकाे छैन ।
आज र भोलि प्रतिनिधिसभाको बैठक बस्ने संसदीय क्यालेन्डर छ । त्यसपछि अर्को संसदीय क्यालेन्डर तयार भएको छैन ।
सरकारले विभिन्न ६ वटा अध्यादेशमार्फत २९ वटा ऐन संशोधन गरेको छ । दुवै सदनबाट अध्यादेश स्वीकृत गराएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ । प्रतिस्थापन विधेयक पनि अधिवेशन शुरू भएको ६० दिनभित्र संसद्बाट पास भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ । तर सरकारले एक महिनासम्म पनि संसद्बाट अध्यादेश स्वीकृत गराउन सकेको छैन ।