वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि, सात महिनामै ४० अर्ब माथि

वीरगञ्ज (पर्सा), १५ फागुन । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार हुँदै निर्यात झण्डै दोब्बरले वृद्धि भएको छ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा वीरगञ्ज नाकाबाट रु १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु निर्यात भएको थियो। यो वर्ष निर्यात झण्डै दोब्बरले बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार मुलुकभरका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३१.७२ प्रतिशत निर्यात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारी का अनुसार प्रशोधित सूर्यमुखी र भटमासको तेलको निर्यात बढेकाले समग्र निर्यातमा वृद्धि भएको हो। उनले भने, "गत आवको तुलनामा चालु आवमा निर्यात उत्साहजनक रूपमा बढेको छ।"
चालु आर्थिक वर्षको सात महिनामा मात्र रु १९ अर्ब ३६ करोड मूल्य बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। त्यस्तै रु ४ अर्ब ६३ करोड मूल्य बराबरको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ।
वीरगञ्ज भन्सार नाका हुँदै रु ३ अर्ब ९६ करोड मूल्य बराबरको फलफूलको जुस, रु ३ अर्ब १२ करोड मूल्य बराबरको फलाम तथा फलामका सामग्री समेत निर्यात भएको छ।
त्यसैगरी, रु १ अर्ब ६० करोड मूल्य बराबरको सिन्थेटिक यार्न, रु १ अर्ब ४७ करोड मूल्य बराबरका विभिन्न प्रकारका कपडा, तथा रु १ अर्ब २२ करोड मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार हुँदै निर्यातमा आएको यो वृद्धि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सुधार देखिए पनि व्यापार घाटा कम गर्न अझै ठूलो चुनौती रहेको व्यवसायीहरू बताउँछन्।