चारदेशीय महिला टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा युगाण्डा पराजित

काठमाडौँ, २५ फागुन । युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो । छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा गयो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।
त्यस्तै पूजा महतोले १६ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन् । सम्झना खड्काले ८, कप्तान इन्दु बर्माले ६ तथा ईश्वरी विष्टले अविजित ३ रन जोडिन् । बलिङतर्फ युगाण्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।
त्यसैगरी, स्टेफेनिया नाम्पिलिनाले २५ बलमा एक चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । जारी सिरिजमा युगाण्डाको यो पहिलो हार हो । युगाण्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।
जारी सिरिजमा घरेलु टोली युगाण्डासँगै नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले सोमबार हङकङसँग खेल्नेछ ।