अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता

ओटावा, २६ फागुन । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दिएका हुन् ।
“हामीले यो लडाईंका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,” कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई भने।
“त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ,”आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले हालै अमेरिकाविरूद्धको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै भने ।
‘अस्तित्वगत चुनौती’
आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिए ।
“अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्”, उनले भने, “यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।”
ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले भने, “हामी यस क्यानडाविरूद्धको आक्रमणमा उहाँलाई सफल हुन दिन सक्दैनौँ।”
“हामी सबै एकअर्काको पक्षमा र क्यानडाको जीवनशैलीका लागि उभिनुपर्छ ,” उनले भने ।