बुधबार २८ फागुन, २०८१

सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई ‘प्रचण्ड’को प्रश्न

सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई ‘प्रचण्ड’को प्रश्न

काठमाडौं, २७ फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको बताएका छन् ।

आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर, काँग्रेस-एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको उनको भनाइ छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले सरकार असफल भएको हो वा जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको भन्दै प्रश्न गरे ।

‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याज पीडितले सीडीयो कार्यालयभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ । गुठीपीडित जनता सयौँ किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौँ आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारी पीडित थप पीडित बनेका छन्,’ उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित हुन् वा महिला म आज सबैलाई आन्दोलनमै देखिरहेको छु ।