बुधबार २८ फागुन, २०८१

राज्य व्यवस्था समितिमा सशस्त्र प्रहरी विधेयकमाथि दफावार छलफल हुने

राज्य व्यवस्था समितिमा सशस्त्र प्रहरी विधेयकमाथि दफावार छलफल हुने

काठमाडौं, २८ फागुन ।  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ को दफावार छलफल हुने भएको छ ।

बुधबार प्रतिनिधि सभाले यो विधेयक अगाडि बढाउँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।

फागुन १२ गते विधेयकमाथि सामान्य छलफल भएको थियो । उक्त छलफलमा भाग लिँदै सांसदहरूले प्रहरी विधेयकमा रहेका प्रावधानहरू र सशस्त्र प्रहरी विधेयकमा रहेका प्रावधानहरू मिल्दोजुल्दो रहेको बताएका थिए । यी दुवै संगठनको भूमिका प्रष्ट गर्न र दुई विधेयकमा रहेका दोहोरोपना हटाउन सुझाएका थिए ।

सशस्त्र प्रहरीको परिचालनको अधिकार, प्रमुख जिल्ला अधिकारीको भूमिकाको आवश्यकता र औचित्यमाथि प्रश्न उठाइएको छ । सशस्त्र प्रहरीको सरुवा र बढुवामा राजनीतिक संलग्नता र हस्तक्षेप रहने गरेको भन्दै यस्तो प्रवृत्ति अन्त्यको नीति खोजिएको छ ।

सैद्धान्तिक छलफलमा उठाएका विषयहरू समेटेर सांसदहरूले संशोधन प्रस्ताव समेत दर्ता गरेका छन् । सशस्त्र प्रहरी विधेयकमा सांसदहरूका ६४ वटा संशोधन परेको छ ।

बुधबार प्रतिनिधि सभाले दफावार छलफल राज्य व्यवस्था समितिमा पठाएपछि सरकारले ल्याएको विधेयक र सांसदका संशोधन एकै ठाउँ राखेर छलफल हुनेछ ।