तोकिएकै मितिमा चुनाव गर्ने उच्चस्तरीय समितिको निष्कर्ष, केसी समूहको समानान्तर बैठक

काठमाडौं, २८ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको कार्यक्रमसँगै बद्री केसी पक्षले पनि मंगलबार एक कार्यक्रम गरेको छ । जुन कार्यक्रम सर्वोच्च अदालतको फैसलाविपरीत भएको समितिको ठहर छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्ट, कुमार पन्तलगायतलाई बोलाएर बद्रीले छलफल गराएका हुन् ।
एकताको नाम दिइए पनि मे महिनामा हुने एकताको महाधिवेशनलाई बिथोल्ने नियतका साथ उक्त छलफल राखिएको बताइएको छ । तर, बद्रीको सोही कार्यक्रममै बोल्ने पूर्वअध्यक्ष, अभियन्ता र एनसिसी अध्यक्षले एकताको विकल्प नभएको बताए । एकता महाधिवेशनका लागि वृहत् छलफल आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
सर्वोच्च अदालतको परमादेशानुसार परराष्ट्र मन्त्रालयले स्पष्टरूपमा मे महिनामा एकताको महाधिवेशन गर्न भनिसकेको छ । यस्तो अवस्थाका बीच पनि बद्री समूह अझै पनि सर्वोच्चको परमादेशलाई चुनौती दिनेगरी अघि बढिरहेका छन् ।
यस विषयमा समितिले केसीले बृहत् एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति नै निकालेको छ ।
पूर्वअध्यक्ष एवं समितिका सम्योजक डा. शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २१ चैत २०८० को आदेशअनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाइएको छ ।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशविपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ । अदालतको निर्णयको उल्लङ्घन गर्ने कुनै पनि कार्य समितिका लागि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । साथै, समितिले एनआरएनए समुदायलाई एकता प्रक्रियामा सहभागी भई अदालतको आदेशअनुसार महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ ।
यस्तै, परराष्ट्र मन्त्रालयमार्फत अदालतको आदेश कार्यान्वयन प्रक्रिया अघि बढिरहेको समेत उल्लेख छ । घलेले भने एकताको महाधिवेशन प्रक्रियालाई तीव्रता दिइसकेका छन् । उनले त्यसका लागि मंगलबार मूल आयोजक समिति, अभियन्ता र एनसीसी अध्यक्षसँग छलफल गरेका छन् । उक्त बैठकमा बोल्ने सबै अभियन्ताले तोकिएको मितिमा एकता महाधिवेशन गर्नुको विकल्प नभएको बताए ।
समितिका सदस्य विनोद कुँवरले तोकिएकै मितिमा एकताको महाधिवेशन गर्नेगरी मूल आयोजक समितिले निष्कर्ष निकालेको बताए । मूल आयोजक समितिमा करिब २ सयजना रहेका छन् ।