संसद्मा मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

काठमाडौं, २८ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। नयाँ बानेश्वस्थित संसद् भवनमा जारी बैठकमा सरकारका मन्त्रीहरू सहभागी नभएपछि प्रतिनिधि सभाको नियमावलीअनुसार बैठक स्थगित गरेका हुन्।
बैठकको सुरु भएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद बैठकमा सरकारका प्रतिनिधि नभएकाले प्रतिनिधि सभाको नियमावलीअनुसार बैठक अगाडि बढ्न नसक्ने बताएका थिए। उनले सरकारले जनप्रतिनिधिलाई हेपेको आरोप लगाए। उनले भने, ‘संसद बैठकमा मन्त्रीहरू कोहिपनि छैनन्। समितिका बैठकमा पनि सरकार उपस्थित भएको हुँदैन। सरकारले जनप्रतिनिधिलाई हेपेको छ।’
लगत्तै सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगितभएको जानकारी गराए। आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण पहिलो संशोधन विधेयक २०८१’,‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’,‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि सांसदबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेश गरिने र मन्त्रीबाट विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।