बुधबार २८ फागुन, २०८१

बीपी राजमार्गको ‘नेपालथोक–बाख्रेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान

बीपी राजमार्गको ‘नेपालथोक–बाख्रेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान

काठमाडौं, २८ फागुन । सरकारले बीपी राजमार्गको नेपालथोकदेखि बाख्रेखोला खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको छ । सडक विभागले आज बुधबार उक्त खण्डको ठेक्का आह्वान गरेको हो ।

गत असोजमा आएको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीक सडक सुरक्षा तथा स्तरोन्नति गर्न ठेक्का आह्वान भएको विभागले जनाएको छ । यो खण्ड विस्तारमा ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

सरकारले बीपी राजमार्गको सबै खण्डको यसै साता ठेक्का आह्वान गरिसक्ने तयारी गरेको छ । विभागका महानिर्देशक रामहरि पोखरेलले यो साता सबै खण्डको ठेक्का निकालिने जानकारी दिए ।

अर्थ मन्त्रालयले यो राजमार्गको पुनर्निर्माणका लागि साढे ८ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेसँगै विभागले अहिले धमाधम ठेक्का लगाउन थालेको हो ।