बुधबार २८ फागुन, २०८१

अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु खेदजनक : जापान

अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु खेदजनक : जापान

टोकियो, २८ फागुन । जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र आल्मोनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु खेदजनक भएको बताएको छ।

जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (जिएमटी)मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताए।

‘व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ’, हयासीले पत्रकारहरूलाई भने, ‘जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ।’

सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो। सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो। वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो।

‘जापानी इस्पात र आल्मोनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन। बरु हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ’, हयासीले भने।

अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गरेका थिए।

‘संयुक्त राज्य अमेरिकामा इस्पात र आल्मोनियमको जापानी निर्यातको अनुपात धेरै सानो छ। त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन’, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भनेका थिए।

यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन्। त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ। ‘सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ’, टोकुराले भने।

जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको स्वास्थ्यले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ। सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो।