ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ

तेहरान, २८ फागुन । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् ।
“पत्र अहिलेसम्म हामीसम्म पुगेको छैन तर एउटा अरब देशका दूतले चाँडै तेहरानमा पुर्याउने तयारी गरिएको छ”, विदेशमन्त्री अब्बास अराघचीले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूलाई भने ।
उनले अरब देशको पहिचान वा पत्र पुर्याउने समयबारे थप विवरण दिएनन् ।
शुक्रबार ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई तेहरानको आणविक कार्यक्रममा नयाँ सम्झौता गर्न वार्ताको आह्वान गर्दै पत्र लेखेको बताएका थिए । उनले अन्यथा नत्र सम्भावित सैन्य विकल्पको सामना गर्नुपर्ने उल्लेख गरेका थिए ।
तर इरानले जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले पुनःस्थापित गरेको ‘अधिकतम दबाब’ नीतिअन्तर्गत वार्तालाई अस्वीकार गरेको छ ।
यस नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक सम्झौताबाट हात झिकेको थियो र तेहरानमाथि व्यापक प्रतिबन्धहरू पुनः लगाएको थियो र नयाँ प्रतिबन्धहरू पनि लगाएको थियो ।
फेब्रुअरीमा खामेनीले आणविक सम्झौताबाट वासिङ्टनको फिर्तीलाई उद्धृत गर्दै अमेरिकासँग वार्ता नगर्न सरकारलाई आग्रह गरेको थियो ।
गत हप्ता उनले वार्तामा जोड दिने केही सरकारको ‘धम्कीपूर्ण’ रणनीतिको पनि निन्दा गरेको थियो । उनले वार्ता ‘समस्याहरू समाधान गर्ने’ उद्देश्यले नभई ‘प्रभुत्व’ का लागि भएको बताएको थियो । रासस