नागरिक लगानी कोष : मौज्दात रकम २ खर्ब ७३ अर्ब

काठमाडौं, ४ चैत । प्रजातन्त्रको पुनर्बहालीसँगै २०४७ चैत ४ गते स्थापना भएको कोष गौरवमय ३५औं वर्षमा प्रवेश गरेको छ । कोष आजदेखि स्थापनाको ३४औं वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै कोषले बचत परिचालन गरी औद्योगिक, व्यावसायिक तथा वित्तीय क्षेत्रमा लगानीका माध्यमबाट समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
कोषको हाल पुँजीगत संरचनाअन्तर्गत अधिकृत पुँजी रु ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जारी पुँजी पनि रु ८ अर्ब छ भने चुक्ता पुँजी रु ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ ।
कोषले चालू आवको पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार २ खर्ब ६४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा १२.६४ प्रतिशतले कोषको लगानी वृद्धि भएको छ भने कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत लगानी रहेको छ ।
त्यसैगरी सरकारी ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्रेजरी बिलमा ४.४४, सङ्गठित संस्थाको शेयर र धितोपत्रमा ११.६७ प्रतिशत लगानी छ ।
आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटन लगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना कोषको रहेको छ ।