अमेरिकी न्यायाधीशको निर्णय- यूएसएड निलम्बन संविधानविरुद्ध

काठमाडौं, ६ चैत । एक अमेरिकी संघीय न्यायाधीशले एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता कटौतीबारे अहिले थप निर्णय नलिन सरकारलाई आदेश दिएका छन् ।
विदेशी सहायता नियोग यूएसएड बन्द गराउँदा एलन मस्कको नेतृत्वमा गठित डोजले संविधानभन्दा बाहिर गएको अमेरिकी न्यायाधीश थियोडोर चुआङको निष्कर्ष छ ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई युएसएड अधिकारीहरू र ठेकेदारहरूलाई हटाउने काम रोक्न आदेश दिएका छन् । साथै पूर्व कर्मचारीहरूको सरकारी इमेल, सुरक्षा, र भुक्तानी प्रणालीमा पहुँच पुनःस्थापित गर्न निर्देशन दिएका छन् ।
न्यायाधीश चुआङलेले सरकारलाई बन्द गरिएको युएसएड मुख्यालय अर्थात रोनाल्ड रेगन भवनमा आफ्ना कर्मचारी फर्कन अनुमति दिन भनेका छन् । न्यायाधीशको आदेशपछि प्रशासनले यस निर्णयको अपिल गर्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् ।
यो मुद्दा मेरील्याण्डको संघीय जिल्ला अदालतमा युएसएड पूर्व कर्मचारीहरूद्वारा दायर गरिएको थियो। यसमा मस्कले संस्थाको वेबसाइट मेटाउने र यसको मुख्यालय बन्द गर्ने भूमिकाबारे प्रश्न उठाइएको थियो।
६८-पृष्ठ लामो आफ्नो निर्णयमा चुआङले एलन मस्कले अमेरिकी संविधानको नियुक्ति धारा उल्लङ्घन भएको उलेलेख गरेका छन् । उनले त्यस्तो जिम्मेवारी सिनेटको अनुमोदनबेगर लिन नमिल्ने पनि न्यायाधीशको रायमा उल्लेख छ । राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई परम्परागत सीमाहरू पार गर्न अनुमति दिएर नियुक्ति धारा निरीक्षणबाट बच्न खोजेको समेत न्यायाधीश चुआङले जिकिर गरेका छन् ।
ट्रम्प प्रशासनले भने नियोग बन्द गर्ने निर्णय विदेश मन्त्री मार्को रुबियो र कार्यवाहक प्रशासक पिटे मारोले गरेको भन्दै उनीहरुले मस्कको सिफारिश कार्यान्वयनमात्रै गरेको दाबी गरेको थियो । न्यायाधीश चुआङले भने युएसएड मुख्यालय बन्द गर्ने र वेबसाइट मेटाउने निर्णय मस्कले नै गरेको निष्कर्ष निकालेका छन् । ट्रम्प प्रशासनले यसको कुनै औपचारिक स्वीकृति देखाउन नसकेको समेत उनको तर्क छ ।