आइतबार १७ चैत, २०८१

माछापुछ्रेको एमबीएल इक्विटी फण्डको सम्पूर्ण इकाइहरू बिक्री, निष्काशन पूर्ण सफल

माछापुछ्रेको एमबीएल इक्विटी फण्डको सम्पूर्ण इकाइहरू बिक्री, निष्काशन पूर्ण सफल

काठमाडौं, १० चैत । एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरू आवेदन बन्द हुने मितिको अन्तिम दिन कार्यालय समय समाप्त हुनु अघि नै पूर्ण रूपमा बिक्री भएका छन्। २०८१ फागुन २२ गतेदेखि निष्काशन खुला गरिएको फण्डको आवेदन अवधि २०८१ चैत ७ गतेसम्म तोकिएको थियो।

एमबीएल इक्विटी फण्ड एक बन्दमुखी प्रकृतिको फण्ड हो, जसमा १२ वर्षको अवधि तोकिएको छ। यो फण्ड अन्तर्गत १० रुपैयाँ अंकित दरमा १२ करोड इकाइ बिक्रीका लागि ल्याइएको थियो। उपलब्ध इकाइमध्ये १५ प्रतिशत संस्थागत लगानीकर्ताका लागि सुरक्षित गरिएको थियो। जसअनुसार, १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ माछापुच्छ्रे बैंकले र १ प्रतिशत अर्थात् १२ लाख इकाइ माछापुच्छ्रे क्यापिटल लिमिटेडले सुरक्षित गरेका थिए। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

फण्डको सफल निष्काशनपछि कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र कोष व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विश्वास गरी आवेदन दिएका लागि धन्यवाद व्यक्त गरेका छन्। साथै, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, बैंक तथा वित्तीय संस्थाहरू, मिडियाकर्मीहरू तथा अन्य सम्बन्धित पक्षहरूलाई सहयोगका लागि आभार व्यक्त गरिएको छ।

यस सफल निष्काशनले लगानीकर्ताको उच्च रुचि देखाएको छ भने बजारमा इक्विटी फण्डप्रति आकर्षण बढेको संकेत गरेको छ। अब फण्डको व्यवस्थापन तथा लगानी रणनीतिले आगामी वर्षहरूमा कस्तो प्रतिफल दिने भन्ने विषयमा लगानीकर्ताहरू उत्सुक देखिएका छन्।