तिलोत्तमा गोल्ड कप : हावाहुरीले स्थगित पहिलो खेल आज हुँदै

बुटवल, १० चैत । हावाहुरीका कारण स्थगित भएको २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज बिहान हुँदैछ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार दिउसो सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच भएको खेल मध्यान्तरपछि ६ मिनेट खेलेर स्थगित भएको थियो । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो हाफको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफ शुरु भएसंगै हावाहुरीले खेल खेलाउन असहज भएपछि खेल स्थगित गर्ने निर्णय भएको थियो ।
आज आईतबार दिउंसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्वायज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिच दोस्रो खेल हुने संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
चैत १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार र उपविजेता टिमले ६ लाख, ६६ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिने प्रतियोगिताका सहसंयोजक सुजन पुनले बताए ।
प्रतियोगितामा भारतका दुई र नेपालका दुई विभागीय सहित ८ टिमले भाग लिएका छन् ।