युक्रेनमा युद्ध रोक्नेबारे साउदी अरबमा सुरू भयो अमेरिका र रूसबीच वार्ता

रियाद, साउदी अरब, ११ चैत । वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको द्रुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा भइरहेको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।
दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।
द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ताको माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रुसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।
रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो ।