बुद्ध सर्किटमा मोनोरेल चलाउनेबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताएका हुन् ।
प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको समेत मुख्यमन्त्रीले सांसद चौधरीलाई सुनाए ।
‘प्रदेश सरकारले बुद्ध सर्किटको योजना बनाएको छ , यहाँ मोनोरेल चलाउन सकिन्छ,त्यसका लागि निजी क्षेत्रको साथ खोजिरहेका छौं,’ मुखयमन्त्री आचार्यले भने ।
मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गरी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको समेत बताए । पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर बृहत योजना निर्माण गरिने पनि उनले बताए ।
छलफलका क्रममा प्रतिनिधिसभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गरे ।
उनले मोनोरेलमा निजी क्षेत्रको लगानी आकर्षित गर्न आफूले पनि पहल गर्ने बताएका मुखयमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।
यसअघि एमाले महासचिव शंकर पोखरेल मुख्यमन्त्री हुँदा पनि सरकारले मोनोरेल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।