आइतबार १७ चैत, २०८१

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

ढाका, १२ चैत । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएको र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेको क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

पचास ओभरको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलमा महमदन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका ३६ वर्षीय तमिमलाई सोमबार छातीमा गम्भीर दुखाइ भएपछि नजिकैको अस्पतालमा लगिएको थियो ।

“उहाँ अहिले राम्रो हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरूसँग कुरा गर्नुभयो र अस्पतालमा केही समय हिँड्नुभयो”, क्लबका अधिकारी तारिकुल इस्लामले भने ।

महमदनका फिजियोथेरापिस्ट एनामुल हकले तमिम स्थिर अवस्था रहेको र छिट्टै अर्को चिकित्सा संस्थानमा स्थानान्तरण गरिने सम्भावना रहेको बताए ।

“उहाँको ज्यान बचाउनका लागि हामीले तुरुन्तै अस्पताल जानुपरेको थियो र भाग्यवश हामीले त्यसो ग¥यौँ”, इनामुलले भने ।

तमिमको उपचार भइरहेको क्षेत्रका मेडिकल निर्देशक राजीब हसनले सोमबार पत्रकारहरूलाई बताए अनुसार अस्पताल पुर्‍याउँदा तमीमको अवस्था गम्भीर थियो ।

धमनीको अवरोध हटाउनका लागि तमिमले शल्यक्रिया गरेर स्टेन्ट लगाउनुपरेको पनि उनले बताए ।

तमिमको स्वास्थ्य सङ्कटको खबरले क्रिकेट जगतबाट समर्थन पाएको थियो ।

“मेरो भाइ तमिम चाँडै निको होऊन् र खेलमा फर्कून् भनेर कृपया प्रार्थना गर्नुहोस् १”, लामो समयदेखिका टोलीका साथी शकिब अल हसनले सामाजिक सञ्जालमा लेखे ।

तमिमको हृदयाघात शकिबको ३८औँ जन्मदिनको दिन नै भयो, तर अलराउन्डर यी खेलाडीले यो समाचारका कारण उत्सवमा आनन्द लिन सकेनन् ।

भारतीय क्रिकेटर युवराज सिंहले पनि आफ्नो ‘प्रार्थना र शुभकामना’ दिए ।

“तिमीले अघि पनि कठिन प्रतिद्वन्द्वीहरूको सामना गरेका छौ र बलियो बनेका छौ, यो पनि त्यस्तै हुनेछ । तिमीलाई चाँडो निको हुने शुभकामना । दृढ रहौ”, युवराजले सामाजिक सञ्जालमा लेखे ।

तमीमले सन् २००७ देखि २०२३ सम्म विभिन्न ढाँचामा तीन सय ९१ खेलमा बङ्गलादेशको प्रतिनिधित्व गरेको थियो र उनी एकदिवसीय क्रिकेटमा बङ्गलादेशको कप्तान थिए।

उनले १५ हजारभन्दा बढी रन बनाएको छ र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने एकमात्र बङ्गलादेशी हुन् । रासस